Thursday, December 10, 2009

मैना हत्याका आरोपी सेनानी निर्दोष रहेको सेनाको जिकिर

बिहिवार, 10 डिसेम्बर 2009 09:42 नागरिक

काठमाडौं, मंसिर २५ (नागरिक)- मैना सुनार हत्यामा आरोपी सेनानी निरञ्जन बस्नेतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय दबाब रहेका बेला नेपाली सेनाले उनी निर्दोष भएको जिकिर गरेको छ। उक्त घटनामा बस्नेत संलग्न नरहेको भन्दै सेनाले सरकारमार्फत् राष्ट्रसंघस्थित शान्ति सेना मिसनलाई सफाइपत्र बुझाएको छ।
चाडस्थित शान्ति मिसनमा रहेका बस्नेतलाई फिर्ता बोलाउन राष्ट्रसंघले नेपाली सेनालाई औपचारिक पत्र लेखेको थियो।
जंगीअड्डाले उनको बचाउ गर्दै हत्याकाण्डमा संलग्न व्यक्तिलाई सैनिक ऐनबमोजिम कारबाही गरिसकेको उदाहरणसमेत पेस गरेको छ।


'सेनाको स्वतन्त्र छानबिन आयोगले सहसेनानी सुनिल अधिकारी र अमित पुनलाई दोषी ठहराएको छ, उनीहरूमाथि कोर्ट मार्सल गरेर जेल सजायसमेत तोकिएको छ,' सहायक रथी एवं सैनिक प्रवक्ता रमीन्द्र क्षेत्रीले नागरिकसित भने, 'बस्नेत दोषमुक्त भएको कुरा सेनाले सरकारमार्फत् युएनमा पत्राचार गरिसकेको छ।'
सन् २००४ मा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सेनाले यातना दिएर मैना सुनारको हत्या गरेको थियो। मैना हत्याकाण्डका अभियुक्त कर्नेल बबी खत्रीले सरकारले पाँच महिनाअघि अवकाश पाइसकेका छन्।

मैनाको हत्या हुँदा बस्नेत पाँचखालमा सहसेनानीका रूपमा कार्यरत थिए। उनी गत भदौमा चाड मिसन खटिएका हुन्। विभिन्न मानवअधिकारवादी संघसंस्थाले सेनानी बस्नेतलाई पनि घटनामा प्रत्यक्ष संलग्न भएको जिकिर गर्दै आएका छन्।

एमनेस्टी इन्टरनेसनलले बुधबार विज्ञप्ति जारी गर्दै अभियुक्त बस्नेतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेको छ। 'अदालतले नै बस्नेतलाई दोषी ठहराएको छ,' एमनेस्टीका कानुनी सल्लाहकार जोनाथ ओ डोनोहुईले भने, 'उनी अझै चाडमा छन् भने नेपाल सरकारले युएन मिसनलाई पक्राउ गरेर नेपाल फर्काउन अनुरोध गर्नुपर्छ।'


नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालय (ओएचसिएचआर) ले मैना सुनुवार हत्या काण्डको स्वतन्त्र छानबिन हुनुपर्ने माग राख्दै आएको छ।

ओएचसिएचआरका नेपाल प्रमुख रिचार्ड बेनेटले सेनापति छत्रमानसिंह गुरूङलाई भेटेर मैना काण्डको छानबिनमा सहयोग गर्न अनुरोध गरिसकेका छन्।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अघिल्लो दिन मैनाकी आमा देवी सुनारले अदालतबाट पक्राउ आदेश जारी भएको महिनौं बित्दा पनि अभियुक्तहरु पक्राउ नभएको भन्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई खुलापत्र दिएकी थिइन्। 'अभियुक्तमध्येका सेनानी निरञ्जन बस्नेतलाई शान्ति सेनामा पठाएको भन्ने सुन्दा मर्माहत भएकी छु,' उनले पत्रमा भनेकी छन्।

यसैबीच, प्रधानसेनापति छत्रमानसिंह गुरूङले ६१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षण र सम्बर्द्धनमा सधै प्रतिबद्ध रहेको बताएका छन्। उनले भनेका छन्, 'द्वन्द्वको समयमा केही सदस्यबाट भएका मानव अधिकार हननका घटना सेनाको नीति विपरीत हुन पुगेका र सम्बन्धित हननकर्ताहरुलाई प्रचलित कानुनबमोजिम दण्डित गरिएको छ, यसले सेनामा दण्डहीनताको अवस्था नरहेको सन्देश दिएको छ।'

Source: http://www.nagariknews.com.np/

No comments:

Post a Comment