Wednesday, October 19, 2011

सरकारले पीडा सुनेन ः द्वन्दपीडित

विमल खतिवडा
पर्वत, कार्तिक १ -
सशस्त्र द्वन्द्वका बेला सहादातप्राप्त प्रहरीका परिवारले सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।

५६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजित श्रद्धाञ्जल्ाी सभामा सोमबार भेला भएका पीडित परिवारले द्वन्द्वमा देशका लागि परिवारका सदस्यले अकालमा ज्यान गुमाए पनि कुनै मूल्यांकन नभएको दुःखेसो पोखे ।

लमजुङमा विद्युतीय धरापमा परी ज्यान गुमाएका शंकरपोखरीका प्रहरी जवान रामप्रसाद लामगादेकी श्रीमती मेनकाले अहिलेसम्म सरकारबाट केही सहयोग नपाएको गुनासो गरिन् । 'श्रीमान् बितेको आज १२ वर्ष भयोे,' उनले भनिन्, 'तर मासिक ४ हजार रुपैयाँ पेन्सन बाहेक केही पाइएको छैन ।' उनले एउटा छोरालाई पढाउँदैमा पेन्सनको रकम सकिने बताइन् । 'सरकारले केही नदिए पनि यत्रो वर्ष मजदुरी गरेर सास अल्झाइयो,' उनले भनिन्, 'तर श्रीमान्को रगतको मूल्यांकन हुनुपर्छ ।' उनले सामान्य रूपमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिए पनि देश र जनताका लागि ज्यान बलिदान गर्नेलाई सहिद घोषणा नगर्दा भने मन रोएर आउने बताइन् ।

कार्यक्रममा उपस्थित पीडित परिवारले रुँदै ज्यान गुमाउनेलाई सम्भिmए । 'के गर्नु फूलको गुच्छा टिप्ने बित्तिकै उहांँको सम्झना आयो,' आर्थरकी भीमकुमारी पौडेलले भनिन्, 'त्यही भएर मन थाम्नै सकिनँ, कार्यक्रममै भक्कानिएर रुन थालंेछु ।' उनी रुँदा कार्यक्रमस्थल केही छिन भावविह्वल बन्यो । उनका श्रीमान् डिलबहादुरको २०६० सालमा म्याग्दी भिडन्तमा मृत्यु भएपछि परिवार ज्याला मजदुरी गरी जीवन निर्वाह गर्न बाध्य छ । 'चार हजार पेन्सनले पालिने घरमा पांँच जना छौं,' उनले भनिन्, 'छोराछोरी पनि पढाउनैपर्‍यो, त्यही भएर रोगी भए पनि बिहान-बेलुका ज्याला मजदुरीको काम गर्न बाध्य छु ।' उनले श्रीमान्को मृत्यु भएदेखि मुटुको रोगी भएकाले औषधीमा मात्र मासिक ५ हजार रुपैयाँ खर्च हुन्छ । 'श्रीमान्ले छातीमा गोली थापेर ज्यान गुमाए पनि के भयो र ?,' उनले भनिन्, 'न त सरकारले हाम्रा लागि नै केही गर्‍यो न त दलका नेताले देश र जनताका लागि केही गरे ।'

उनले श्रीमान्को सम्मान गर्न सालिक निर्माण गरी सहिद घोषणा गर्नुपर्ने र छोराछोरीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुपर्ने बताइन् । 'म त मुटुको बिरामी छु, कहिले के हुने हो थाहा छैन,' उनले पीडा सुनाउदै भनिन्, 'त्यही भएर सरकारसँग छोराछोरी पढाउने व्यवस्था मिलाइदिन आग्रह गर्छु ।' उनका २ छोरी र १ छोरा छन् ।

सहभागी सबैले देशमा शान्ति ल्याउन अहोरात्र खटिएका प्रहरीले देशका नाममा ज्यान दिए पनि उनीहरूको सपना पूरा गर्न कोही लागिनपरेकोमा दुःख लागेको बताए । 'हामी जस्ता हजारौं महिला विधवा बनेर लोकतन्त्र आएको हो,' अर्की पीडित पार्वती गुरुङले भनिन्, 'तर, लोकतन्त्रले हामीलाई के दियो ? उल्टै पीडा मात्र ।'

उनले सत्तामा पुगेकाहरूले अल्पायुमै विधवा बनेका महिलाहरूको भावनको सम्मान गर्न नसकेको बताइन् । पीडितहरूले घरको मूली बितेसँगै चाडबाड मनाउन छाडेको र खुसियाली पनि खोसिएको बताए ।

उनीहरूले काठमाडौंमा केन्दि्रत प्रहरीका परिवारलाई दिइने सेवासुविधालाई गाउँं तहसम्म पुर्‍याउन माग गरे ।

प्रकाशित मिति: २०६८ कार्तिक २ ०९:४७
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=254506

No comments:

Post a Comment