Tuesday, August 30, 2011

सरकार र राजनीतिक दल जवाफदेही बन’

लालप्रसाद शर्मा
पोखरा, भाद्र १२ -
बेपत्ता श्रीमान् टंक शर्माको अवस्था सार्वजनिक माग गर्दागर्दै थाकिसकेकी स्याङ्जा किचनास ६ की आरतीले अब फर्केर आउने आशा मारेकी छन् । घरमुली बेपत्ता भएपछि बेसहारा उनी एक छोरीसहित तनहुँ दुलेगौडास्थित माइतीमै बस्छिन् । 'धेरै ठाउँमा धाए पनि केही खबर पाउन सकिनँ', आरतीले भनिन्, 'दल र सरकारले हाम्रो पीडा सुन्नुपर्‍यो । अवस्थाबारे प्रमाणसहित सार्वजनिक गर्नुपर्‍यो ।' टंकलाई सुरक्षाकर्मीले माओवादी आरोपमा ०५८ माघ ९ गते लेखनाथ १३ सुकुम्बासी बस्तीस्थित कोठाबाटै पक्रेर लगेका थिए ।

यसैगरी चोरीको आरोपमा स्थानीयबासीको कुटाइपछि ०६३ असोज ९ मा माओवादीलाई बुझाइएका लुम्ले माझगाउँका खिमबहादुर सुनार पनि अहिलेसम्म कहाँ छन् थाहा छैन । 'त्यस दिनयता बाबुको अवस्थाबारे अनविज्ञ छु,' अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा छोरी ध्रुबाले भनिन्, 'माओवादीले पनि केही बताएको छैन ।'

माओवादी द्वन्द्व तथा विस्तृत शान्ति सम्झौतासम्म बेपत्ता भएका परिवारले अब आफ्नो सदस्य जीवितै फर्किएर आउने आशा मारिसकेका छन् । अवस्था सार्वजनिक र दोषीलाई कारबाही गर्न भइरहेका आन्दोलनप्रति सरकार उदासिन रहेको भन्दै उनीहरू आक्रोशितसमेत छन् । उनी भन्छन्, 'परिवार विचल्लीमा छन्, बेपत्ता र्फकने सम्भावना पनि देखिँदैन । राज्यले परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र क्षतिपूर्ति दिएर दोषीमाथि कारबाही गर्नुपर्छ । बेपत्ता आयोग गठन गरी जवाफदेहिता देखाएर न्याय दिनुपर्छ ।'

'आफूहरूको मागमा सुनुवाइ नहुँदा राज्य र दलहरू जवाफदेहिताबाट टाढिन खोजेको देखिन्छ,' बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बरालले भने, 'अवस्था सार्वजनिक, दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्‍यो ।' उनले कमाउने नै बेपत्ता भएपछि परिवारको दैनिक जीवन कष्टकर बन्दै गएको र यसको पीडा सबैभन्दा बढी महिला र बुढाबुढीले बेहोर्नुपरेको बताए ।

सन् ७० को दशकमा ल्याटिन अमेरिकी मुलुकमा बढी बेपत्ता पारिएपछि आफन्तले चलाएको अभियान संयुक्त राष्ट्रसंघमा पुगेपछि सन् १९८३ अगस्ट ३० देखि अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइन थालिएको हो । यस अवसरमा ५ संस्थाद्वारा आयोजित कार्यक्रममा पीडितले सत्य, न्याय र परिपूरणसहितको कानुनी प्रावधान हुनुपर्नेमा जोड दिए ।

लेखनाथ १३ का सोमबहादुर विक बेपत्ता बनेपछि परिवारमा खुसी छैन । आफन्त बिरामीलाई अस्पताल लैजाँदै गर्दा विकलाई सुरक्षाकर्मीले ०५९ असार २३ मा पक्रेका थिए । 'फूलबारी ब्यारेकमा जाँदा पक्रेर ल्याएको भनेका थिए,' आमा ओमकुमारीले भनिन्, 'तर अहिलेसम्म पत्तो छैन, राज्यले हामीलाई रुवाइरह्यो ।'

बेपत्ताका फरकफरक तथ्यांक

कास्कीमा बेपत्ता हुनेको संख्या फरकफरक छ । वकालत मञ्च र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले २९ बेपत्ताको सूचीमा राखे पनि केही व्यक्तिको नाम भिन्न छ । रेडक्रसले कुन पक्षबाट भन्ने खुलाएको छैन । मञ्चले एक माओवादीबाट, २१ राज्यपक्षबाट र अन्य सात जनाको कुनै पहिचान नभएको उल्लेख गरेको छ । इन्सेकले एक माओवादी र १६ राज्य पक्षबाट तथा मानव अधिकार आयोगले माओवादीबाट दुई, राज्यबाट ११ र अज्ञातबाट सात गरी २० बेपत्ता भएको जनाएको छ । बेपत्ता समाजले २३ जना रहेको जनाएको छ ।

यसैबीच बे पत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवसमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति -आईसीआरसी) र नेपाल रेडक्रस सोसाइटीले बेपत्ता व्यक्तिको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा ०५२ देखि ०६३ सम्मको सशस्त्र द्वन्द्वमा बेपत्ता भई अझै अवस्थाबारे थाहा नभएका १ हजार ३ सय ८३ जनाको नाम समावेश छ ।

नेपालमा बेपत्ता भएका ती व्यक्तिका परिवारहरूले आफन्त गुमाउँदा भोग्नुपरेको पीडालाई सार्वजनिक मान्यता प्रदान गराउन र बेपत्ता आफन्तलाई के भयो भन्ने सम्बन्धमा स्पष्ट जानकारी गराउन ध्यानाकर्षण गराउन माग गरेको छ । आईसीआरसीको काठमाडौं प्रतिनिधिमण्डल उपप्रमुख ल्हर स्नेवर्गरले नेपाली अधिकारीले बेपत्ताका सम्बन्धमा यथाशक्य चाँडो जवाफ उपलब्ध गराउनु सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

अपांगले राहत पाएनन्

रौतहट- सशस्त्र द्वन्द्वका बेला सेनाको गोलीले अपाङ्ग भएका एकजनाले अहिलेसम्म राहत पाएका छैनन् । जिल्ला प्रशासनमा दिएको निबेदनसमेत कर्मचारीले हराइदिँदा उनी निराश बनेका छन् ।

उपचारमा सर्वस्व सकिएपछि परिवारको अवस्था कष्टकर बनेको छ । राहतका लागि उनी महिनामा चार पटकसम्म प्रशासन धाइरहे । माधोपुर गाविस ३ का ३८ वषर्ीय रामदेव मुखियाले राहत पाउन नसकेका हुन् ।

२०६० सालमा सेनाले बिहान शौच गर्न खेतमा गएको बेला मुखियालगायत तीन जनालाई गोली हानेको थियो । उक्त घटनामा भिखर राय र महादेव मुखियाको मृत्यु भएको थियो । 'शौच गर्न गएको बेला अचानक सेनाले लाइन लगाएर गोली हान्यो,' मुखियाले भने 'साथीहरूले, म खुट्टामा गोली लागेर घाइते भएँ ।' त्यसपछि खुट्टा गुमाएका मुखियाले राहतको लागि प्रशासनमा धाउँदै ८ वर्ष बिताएको बताए ।

मुुखियाको उपचारको लागि स्थानीयवासीले तत्कालै भारतको दरभङ्गा लगेका थिए । त्यहाँ उनको दायाँ खुट्टा काटिएको थियो । सम्पत्तिको नाममा रहेको दुई कठ्ठा खेत समेत उपचारमा सकियो । मुखियाकी श्रीमती सुनीतादेवीले भनिन्, 'अब जीविका चलाउन धौधौ छ ।' उनले प्रशासनले निवेदन हरायो भनेर राहत नदिएको दुखेसो पोखिन् ।

प्रकाशित मिति: २०६८ भाद्र १३ ०७:५९
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=250870

No comments:

Post a Comment