Tuesday, August 30, 2011

सास देऊ कि लास

सास देऊ कि लास
'कान्तिपुर संवाददाता
बागलुङ, भाद्र १२ -
अन्तर्राष्ट्रिय बेपत्ता दिवसमा यहाँका पीडितहरूले वेदना पोख्दै भने, 'कि सास देऊ, कि लास देऊ ।'

चाडपर्व आउँदा बेपत्ताको बढी याद आउने आफन्तहरूले बताए । बानपा २ की जसोदा शर्माले भनिन्, 'सबैका घर-परिवार रमाइलो गरिरहँदा छोराछोरीलाई सम्झाउने शब्द पनि पाउँदिनँ ।' दस वर्षदेखि श्रीमान्को पत्तो पाइन्छ कि भन्दै भौतारिँदै हिँडेकी उनले छोराछोरी समेत चिन्ताले व्याकुल बन्ने गरेको दुखेसो पोखिन् ।

०५८ माघ १ गते घरैबाट सेनाले पक्राउ गरेपछि बेपत्ता श्रीमान् सूर्यप्रसाद अहिले पनि बेपत्ता सूचीमा छन् । उनको अवस्था सार्वजनिक गरी पीडितलाई १ सय ८० दिनभित्र अन्तरिम राहत प्रदान गर्न अन्तर्राष्ट्रिय मानवअधिकार समितिले नेपाल सरकारलाई निर्देशन दिएको थियो । तर ३ वर्ष पुग्दा पनि सुनुवाइ नभएपछि उनका परिवारजन निराश छन् ।

जिल्लामा अहिले २२ बेपत्ताको सूचीमा छन् । स्थानीय शान्ति समिति, न्यायका लागि द्वन्द्वपीडित समाज र वकालत मञ्च धौलागिरिले पीडितको पक्षमा राहतका लागि दबाब दिने कार्यक्रम गरे पनि सरकारी निकायबाट सहयोग नपुगेको उनीहरूले गुनासो गरे । बेपत्ताका सबै परिवारले आफन्तहरूको खोजी गर्न अझै माग गर्न छोडेका छैनन् ।

शर्माको स्थिति सार्वजनिक गर्न समितिले ०६५ कात्तिकमा नेपाल सरकारलाई निर्देशन दिएको थियो । स्वदेशभित्रका न्यायिक र अर्धन्यायिक सबै निकायमा उजुरी गर्दा पनि सुनुवाइ नभएपछि शर्माकी पत्नी जसोदा अन्तर्राष्ट्रिय तहमा पुगेकी थिइन् । 'बल्ल सास वा लास पाउने भएँ भन्ने लागेको थियो,' शर्माले भनिन्,' पाएको आस पनि अब त फेरि मर्न थालेको छ ।'

उनले अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा पनि जिल्लाका दल, प्रशासक र मानव अधिकारकर्मीलाई स्थिति सार्वजनिक गरिदिन आग्रह गरिरहेकी छन् ।

घरमा सुतिरहेको समयमा सेनाले गिरफ्तार गरी शर्मालाई बागलुङकै कालीप्रसाद गणमा लगेको थियो ।

प्रकाशित मिति: २०६८ भाद्र १३ ०७:
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=250869

No comments:

Post a Comment