Monday, March 11, 2013

आयोग गठनमा सहमति

२८ फागुनमा बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चा सहभागी बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगको मस्यौदा सम्बन्धी विवादमा सहमति भएको हो । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि पछिल्लो समय निरन्तर छलफल चलाइरहेका दलहरुले अझै पनि सहमतिलाई अन्तिम रुप दिन भने सकेका छैनन् ।
नेपाली सेनामा समायोजन रोजेका माओवादी लडाकुको दर्जा निर्धारणको विषयमा आज सहमतिमा पुग्ने बताए पनि त्यसबारेमा छलफल नभएको नेताहरुले बताए ।
बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार गठनका लागि विवादित विषयहरुमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगको मस्यौदा सम्बन्धी विवादमा सहमति भएको बताए । उनका अनुसार द्वन्द्वकालका गम्भीर घटनाहरुमा मुद्दा चलाउनेमा सबै दलहरु सहमत भएका छन् । यसअघि एमाओवादीले त्यसबेलाका सबै घटनाहरुमा मेलमिलाप गराउनु पर्ने र आममाफी दिनुपर्ने जस्ता अडान राख्दै आएको थियो ।
एमाले नेता रघुजी पन्तले आयोग सम्बन्धी विवादित विषयमा सहमति भएको र २९ फागुनमा बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिइने बताए ।
श्रेष्ठले २९ फागुनमा चार शक्तिको बैठक बसेर सहमतिलाई अन्तिम रुप दिने र त्यसपछि सर्वदलीय बैठक बोलाएर  जानकारी गराई अन्य दलको पनि सहमति लिने बताए ।
यसअघि शीर्ष नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीसँग बालुवाटारमा भेटेर उनलाई प्रधानमन्त्री बनाउँदा आइपर्ने संवैधानिक अडचन हटाउने संविधान संशोधनको मस्यौदामा छलफल गरेका थिए । उक्त मस्यौदालाई चारै राजनीतिक शक्तिका प्रतिनिधिहरु सहभागी कार्यदलले अन्तिम रुप दिने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।
Source: http://www.himalkhabar.com/?p=22831
 

No comments:

Post a Comment